छरपष्ट परेको केशलाई,
दुई हातले सम्हालेर,
रातो रिबनले टिमीक्क खसेर,
पछिलतिर एउटा चुल्ठो पार्दै गर्दा ;
बादलको पर्दा उतार्दै,
घामको किरणमा,
टलक्क टल्केको हिमाल पनि,
उसको सुन्दरताको अघि,
दोस्रो नम्बरमा झरेको थियो।
माया प्रेम सबै भ्रम हुन्,
भन्ने सोचमा गुज्रेको म को हुँ र ?
कैयौँ साल तपस्यामा रहेका,
ऋषिमुनिहरू पनि सोच्न बाध्य हुन्थे,
उसको सुन्दरताको अघि,
प्रेमको अस्तित्व र महत्त्वको विषयमा ।
हो ! उसको सुन्दरता नै त्यस्तै थियो,
जो कोही पनि मात खान्थ्यो उसको अघि,
त्यही भिडको एक भेडो म पनि थिए,
जो त्यही सुन्दरताको पछि लाग्यो।
थोरै उमेरको दोष त थोरै आफ्नो लोभ,
उसलाई चाहने मेरो पनि भोक,
आटेरै एक दिन भन्ने हिम्मत राखे,
कैयौँ दिनको मनको पोको खोल्ने कोसिस गरे।
कुरा घुमाउँदै-बटार्दै-चपाउँदै-जोड्दै,
केही कुरा नसोची,
कसैको प्रभाव नगरी अनि,
भविष्यलाई ख्यालै नराखी ,
आफ्नो मनको सबै कुरा पोखे, मन खोले।


0 Comments