करोडौंको भिडमा आफ्नो परिचय खोज्नु/बनाउनु नै हामी सबै नेपाली युवा को मुख्य उद्देश्य भयको छ आजभोलि । हामी सबलाई करोडौंमा आफ्नो अलग्गै परिचय बनाउनु छ जसको कारण सबैले आफूलाई चिनोस् । हामी आफ्नो व्यक्तित्व पहिचान गर्नमा धेरै लागेका छौ । म को हुँ भन्ने प्रश्नको उत्तर खोज्नमै धेरै समय खर्च गर्छौ र त्यसपछि म यो हुँ भन्ने चिनाउँदैमा आफ्नो जीवन खेर फाल्छौँ ।

 

हामी आफूले आफ्नो व्यक्तिगत परिचय खोज्दै गर्दा हामीले  आफ्नो देशको परिचय कस्तो बनाएका छौ भनेर कहिल्यै सोच्न सकेनौ । हामी सधै आफ्नो व्यक्तित्वको परिचय खोज्यौ । आफ्नो राष्ट्रको परिचयलाई आफ्नो परिचय मान्न सकेनौ । मान्न पनि कसरी सक्छौ र ? हामीले आफ्नो देशको परिचय बडाउने काम गर्न सकेको भय पो आफ्नो परिचय आफ्नो देश भित्र पाउने थियौं ।

 

हामीलाई विदेशीले हाम्रो नामले भन्दा बडी हाम्रो देशको नामले चिन्छन् । यही कुरा धेरै नेपालीले थाहा पाएर होला आफ्नो राष्ट्रियतालाई नै परिवर्तन गर्न थालेका छन् ।

देशको कार्यकारी प्रमुख त देशको भन्दा बडी आफ्नो व्यक्तिगत परिचयको भोका छन् अनि कसरी देशको परिचय विश्व सामु उच्च होस् ? हामी व्यक्ति-व्यक्तिलाई आफ्नो व्यक्तिगत परिचयको खाचो छ चाहे जे सुकै होस् हाम्रो देशको परिचय ।

 

'म आफ्नो व्यक्तित्वको परिचय आफू भित्र होइन आफ्नो देशसँग जोडेर हेेर्छु । आफ्नो नागरिकतामा आफ्नो परिचय देख्छु । ' यस्तो भन्ने हिम्मत साधरण नेपालीलाई त के नेपालको राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि छैन ।

 

हामी सधैं आफ्नो व्यक्तिगत स्वार्थमा लाग्यौ । आफूले के दियौ भन्दा बडी आफूले के पायौ भनेर खोज्यौ । सधैं आफ्नो परिचय बनाउन लाग्यौ । देशको परिचय बनाउन सक्यो भने आफ्नो परिचय त्यहीँबाट बन्छ भन्ने कुरा कहिल्यै बुझेनौ । हामी आफ्नो नागरिकता त्याग्न तयार भयौ तर आफ्नो नागरिकताको परिचय बलियो बनाउन कहिल्यै सकेनौ । प्रधानमन्त्री देखि साधारण नेपाली नागरिक सबैले एक आर्कालाई दोष मात्रै लगायौ । सधैं अरुले बनाइदिने आशामा पर्खेर बस्यौ । आफै बनाउन कहिल्यै सकेनौ । हामी सधैं विकशित देशमा गएर आफ्नो परिचय बनाउन खोज्यौ तर कहिल्यै आफ्नो देशलाई विकशित देश बनायर आफू विकशित देशको नागरिक हुँ भनेर पनि आफ्नो परिचय बनाउन सकिन्छ भन्ने तर्फ कहिल्यै सोच्न सकेनौ । हामी नेपाली मन बदल्न तयार देखिन्छौ तर अल्प विकसित नेपालको परिचय बदल्न तयार भएनौ ।