"आमा त्यो खेलाउने कुरा किनीदिनुुहोस्न " दशैंको लागि बजार गर्न शहर झर्दा एउटा निम्न वर्गीय परिवारको बालकको प्रश्न थियो यो । जवाफमा आमाले, ” यो त नक्कली हो । म तिमीलाई घरमै गएर राम्रो खेलाउनी कुरा बनाइदिन्छु ।” बाल मनस्थिति नै भयपनि मैले बजारको त्यो खेलाउनामा भन्दा आमालाई विस्वास गरेर घर फर्किए ।
यो कुरा थैली हलुङ्गो भएर आमाले मन गरुङ्गो पार्दै भन्नु भएको रै छ भन्ने कुरा म अहिले आएर बुझ्दै छु । राजतन्त्र र गणतन्त्र दुबै व्यवस्था भोग्नु भएको मेरी आमाको थैलीको अवस्था देशमा फेरिको व्यवस्थाले फेर्न सकेन । मेरी आमा त एउटा उदाहरण मात्रै हो यो समाजको ।
हामीले निक्कै ठुला-साना आन्दोलन गर्यौ व्यवस्था परिवर्तन गर्न । व्यवस्था त परिवर्तन भयो तर देश र जनताको आर्थिक अवस्था फेरिएन । आजपनि हजारौं युवाको सपना देशमा बस्ने भन्दा विदेशमा पस्ने रहेको छ । देशको नाम अल्प विकसित देशहरूको सुचिमा पारेर युवालाई विदेशमा पठाउनु नेतृत्वको यो भन्दा लाज मर्दो काम के हुन सक्छ ? आजभोलि बिचैमा पढाई छोडेका खाडीमा , +२ पास गरेका IELTS/ TOFEL पास गरेर Australia, USA अनि Bachelor/Master गरेकाहरु Europe, Canada जाने चलन यतिधेरै बडेको छ कि निकट भविष्यमा नेपाल एउटा वृद्धा आश्रम हुने खतरा बढेको छ ।
परिवर्तित व्यवस्थाले दुई-चार जना नेताको आर्थिक अवस्थामा कायापलट त आयो तर हामी जस्ता निम्न वर्गीय परिवारमा अझै पनि चुलो बल्न गाह्रो पर्दै आएको छ । एक जोर कपडालाई टालेर हुन्छ कि काटेर हुन्छ एक वर्ष कटाउनु पर्ने हाम्रो बाध्यता अझै नि उस्तै छ। मासु खानेलाई दशैं कुर्नु पर्ने र विरामी पर्दा उपचार गर्न नसकेर धामी-झाक्रीकोमा जानुपर्ने र घरकै जडिबुटी खाएर भगवान पुकार्दै बस्नु परेको छ । धनिहरु धनी बन्दै गएका छन् तर गरिब सधैको गरिब रहेका छन् । धनी र गरिब बिचको वर्गीय खाडल बड्दै गएको छ । राज्यले आरक्षण पनि जातको आधारमा दिएको छ । एउटा क्षमतावान क्षेत्रि-बाहुनका छोरा/छोरी आर्थिक अवस्थाका कारण नै आफूले पढ्न चाहेको पढ्न पाएका छैनन् । न्युन क्षमता भएकाहरु पनि जातिय आरक्षणका कारण उच्च अहोदामा पुगेका छन् । यसको असर हामीले विस्तारै देख्न थालेका छौ ।
हामीले धेरैको लागि धेरै आन्दोलन गर्यौ । अन्त्यमा हाम्रो अवस्था उस्ताको उस्तै रह्यो। विचौलियाको कारण किसानले आफ्नो मेहनत अनुसारको मुल्य पाउदैन । गिट्टी कुट्नेको पसिनाको मूल्य नै छैन । तल्लो तहका मजदुरको अवस्था उस्तै छ । न त हामीले आन्दोलनमा बगाएको रगतको सम्मान भयो न हामीले परिश्रम गरेर बगाएको पसिनाको मुल्य पायो । हामी निम्न वर्गीय जनताहरूको अझै पनि श्रमको मुल्य हुन सकेन । हामीले ल्याएको व्यवस्थाले हामीलाई नै चिन्न सकेन । हामी चप्पल लगाउनेहरू भनेर हेप्ने उच्च वर्गिय जुत्ता लगाउनेहरूलाई परिआए आफैंले लगाएको चप्पल हानेर खालि खुट्टा नै भयपनि वर्गीय विभेद विरुद्धको आन्दोलनलाई सफल बनाउनु छ । वर्गीय विभेद अन्त्य गर्नु छ ।

0 Comments